६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

प्रथम प्याब्सन रनिङ शिल्ड कोहलपुरमा आजबाट सुरू



कोहलपुर बाँके पुस ६ ।

प्रथम प्याब्सन कोहलपुर रनिङ शिल्ड खेलकुद प्रतियोगिता–२०८० कोहलपुरमा आजदेखि सुरू हुँदै छ । प्याब्सन बैजनाथ गाउँपालिका समितिको सहकार्य र प्याब्सन कोहलपुर नगर समितिको आयोजनामा आजदेखि रनिङ शिल्ड खेलकुद प्रतियोगिता हुन गइरहेको हो ।

कोहलपुरस्थित तेह्र बिघा खेल मैदानमा आज बिहान ११ बजे एक भव्य समारोहका बीच नगर प्रमुख पूर्णप्रसाद आचार्यले रनिङ शिल्ड खेलकुदको उद्घाटन गर्नेछन् ।

आजदेखि सुरु हुन गइरहेको रनिङ शिल्ड पर्सि आइतबारसम्म चल्ने आयोजक प्याब्सन कोहलपुरका अध्यक्ष गोविन्द सुवेदीले जानकारी दिए ।

‘पालिकास्तरमा समिति बनेपछि पहिलोपटक कोहलपुरले आयोजना गर्न लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको छ,’ उनले बिहीबार खेल मैदानमा पत्रकारहरूसँग कुरा गर्दै भने, ‘रनिङ शिल्डलाई हामीले आफ्नो तर्फबाट भव्य र सभ्य बनाउन लागिपरेका छौं ।’

केही खेलहरू भने उद्घाटनपूर्व नै आज बिहानै ७ बजेबाट सुरु हुने आयोजक प्याब्सन कोहलपुर समितिले जनाएको छ । माध्यमिक र आधारभूत गरेर दुई तहमा विभाजन गरेर रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गरिनेछ ।

रनिङ शिल्डमा बैजनाथ र कोहलपुरका २७ विद्यालयका ९ सय २२ विद्यार्थीहरूले विभिन्न खेलहरूमा भाग लिने प्रथम प्याब्सन कोहलपुर रनिङ शिल्ड खेलकुद प्रतियोगिताका संयोजक समिर घर्तीले जानकारी दिए ।

उनका अनुसार माध्यमिक तहका २० र आधारभूत तहका ७ विद्यालयका छात्र/छात्राले प्रतियोगितामा भाग लिनेछन् । विभिन्न विधाका खेलहरूमा आधारभूत तहका २ सय १६ छात्र र १ सय ५ छात्रा गरेर ३ सय २१ तथा माध्यमिक तहका ३ सय २५ छात्र र २ सय ७६ छात्रा गरेर ६ सय १ जनाले सहभागिता जनाउनेछन् ।

प्रतियोगिताको उद्घाटनभन्दा पहिला विद्यार्थीहरूले विभिन्न भेषभूषा झल्किने झाँकीसहितको ¥याली निकाल्ने संयोजक घर्तीले जानकारी दिए । भेषभूषा झल्किने झाँकीसहितको ¥याली कोहलपुर चौराहाबाट सुरु भएर खेल मैदानमा पुग्नेछ । खेल मैदानमा खेलाडी र विद्यार्थीहरूले मार्चपास समेत गर्नेछन् ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ३ : ३२ बजे