७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

पहिलोपटक नेपालगन्जमा ‘फिल्म फेस्टिभल’ आयोजना हुँदै




कोहलपुर बाँके चैत ५ – बाँके जिल्लामा पहिलोपटक फिल्म फेस्टिभल आयोजना हुने भएको छ । बाँकेको नेपालगन्जमा द डेलिगेसन अफ द युरोपियन युनियन टु नेपालले नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभल २०२४ आयोजना गर्ने भएको हो ।

यो वर्षको चलचित्र महोत्सव युरोपियन युनियन–नेपाल दौत्यसम्बन्ध स्थापना भएको ५० औं बार्षिकोत्सव मनाउन गरिएका थुप्रै कार्यक्रमहरूको श्रृंखलाको एउटा हिस्सा भएको आयोजकले जनाएको छ । जसअन्तर्गत नेपालगन्जमा वैशाख ३ गते नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभल २०२४ आयोजना हुने भएको हो ।

“युरोपियन युनियन–नेपाल सम्बन्धको ५० वर्षः साँस्कृतिक विविधताको उत्सव” भन्ने मूल नाराका साथ महोत्सवको १३ औं संस्करणका रुपमा यही चैत ७ गतेदेखि महोत्सव आयोजना हुँदैछ । चलचित्र महोत्सवको उद्घाटन कार्यक्रम भने काठमाडौंमा चैत ७ गतेदेखि १० गतेसम्म सञ्चालन हुनेछ ।

महोत्सवको उद्घाटन कार्यक्रममा मार्टीन म्याकडोनागले निर्देशन गरेको विभिन्न अवार्ड जितेको चलचित्र ‘द ब्यानशीस अफ इनीशेरीन’सँगै शान्ता नेपालीद्वारा निर्देशित चलचित्र डाय ड्रिम्स प्रदर्शित हुनेछ ।

त्यस्तै चैत २८ र २९ गते सुदूरपश्चिम प्रदेशमा र आयोजना कर्णाली प्रदेशमा वैशाख ७ र ८ गते महोत्सव आयोजना हुनेछ ।

महोत्सवको हरेक स्क्रिनिङ्ग एउटा नेपाली र अर्को युरोपियन चलचित्र गरी दुईवटा फिल्महरु देखाइने छन् । महोत्सवको लागि लघु चलचित्र छनौट गर्न नेपाली युवा चलचित्र निर्देशकहरुका लागि लघु चलचित्र प्रतिस्पर्धा आयोजना गरिएको थियो । विजेता चलचित्रका निर्देशकहरूसहित अन्य युवा निर्देशकहरु शरद क्रृतुमा ब्रसेल्समा आयोजना हुने नेपाली चलचित्रहरुको महोत्सवमा सहभागी हुने छन् ।

यो महोत्सवको लागि १० वटा लघु नेपाली चलचित्रहरु प्रतिस्पर्धामार्फत छनौट गरिएको थियो । प्रतिस्पर्धामा युवा नेपाली चलचित्र निर्देशकहरूबाट ठूलो संख्यामा चलचित्रहरु सब्मिट भएका थिए ।

महोत्सव अवधिभर ९ वटा युरोपियन चलचित्रहरु र ११ नेपाली लघु चलचित्र प्रदर्शित हुनेछन् । युरोपियन चलचित्रहरुमा मार्टीन म्याकडोनाग निर्देशित द ब्यानशीस अफ इनीशेरीन (आयरल्याण्ड), मेरियन ब्लिचर निर्देशित मिस भिर्बोग (डेनमार्क), इम्यानुएल परभु निर्देशित मिकादो (रोमानिया, चेज रिपब्लिक), पिलर पालोमेरो निर्देशित स्कुल गर्लस् (स्पेन), एन्टोनियो लुकीच निर्देशित लक्जेम्बर्ग लक्जेम्बर्ग (युक्रेन), इभान ओस्ट्रोचोभ्स्की निर्देशित सरभेन्टस् (चेज रिपब्लिक, आयरल्याण्ड, रोमानीया, स्लोभाकीया), भिक्टर बोजिनोभल निर्देशित द नेकेड ट्रुथ अवाउट झिगुली ब्याण्ड (बुल्गेरीया), जाइदा बरग्रोथ निर्देशित टोभ (फिनल्याण्ड) र रोड्रिगो सोरोगोएन निर्देशित द बीस्ट (स्पेन) रहेका छन् ।

यसैगरी महोत्सवमा नेपाली चलचित्रहरु शान्ता नेपाली निर्देशित डाय ड्रिम्स, गोपाल आचार्य निर्देशित डिभिनेसन् (आखत), समाल बज्राचार्य निर्देशित हावाम्यान, निमा गेलु शेर्पा निर्देशित काठमाडौं मनसुन, अतिन श्रेष्ठ निर्देशित मखमली उडान, रजिन महर्जन निर्देशित लेट्स टक् पिरियड, मिराज रोशन ठकुरी निर्देशित रातो पछ्यौरी, आकांक्षा कार्की निर्देशित सनाई, स्वोयन मास्के मानन्धर निर्देशित द बुल, द काउ, द काल्फ, सन्तोष दाहाल निर्देशित द मिराज र अनिल कुर्मी निर्देशित रिल प्रदर्शन हुनेछन् ।

साथै अभिनेत्री उपासना सिंह ठकुरी यस चलचित्र महोत्सवको दूत (एम्बास्डर) रहेको छिन् ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ६ : १८ बजे