७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

अवतरणको क्रममा श्री एयरलाइन्सको चक्का फुस्कियो



कोहलपुर बाँके चैत ६ – जहाज अवतरण गर्ने समयमा धनगढी विमानस्थलमा श्री एयरलाइन्सको चक्का फुस्किएको छ।

काठमाडौँबाट धनगढीका लागि सोमबार उडेको एएनएच २२७ उडान नम्बरको श्री एयरलाइन्सको जहाज ल्याण्ड गर्ने समयमा एउटा चक्का फुस्किएको हो। चक्का फुस्किए पनि जहाज ठूलो दुर्घटना हुनबाट जोगिएको छ।

जहाज अवतरण हुने समयमा खसेको एउटा चक्का विमानस्थल कार्यालयमा तैनाथ प्रहरी र विमानस्थलका कर्मचारीले खोज्ने क्रममा झाडीमा फेला पारेका हुन्।

जहाज अहिले धनगढी विमानस्थलमै ग्राउन्डेड गरिएको छ। जहाजमा प्राविधिक समस्या आएपछि यस्तो भएको धनगढी विमानस्थल कार्यालयका प्रमुख गणेशबहादुर सिंहले बताए। उनका अनुसार हिजो यस्तो समस्या देखापरेपछि अहिले जहाज ग्राउन्डेड छ, प्राविधिकले जाँच गरेपछि मात्र उड्न अनुमति दिइनेछ।

‘यो धेरै ठूलो समस्या होइन, प्राविधिक समस्या हो, प्राविधिक जाँचपछि मात्र वास्ताविकता थाहा हुन्छ,’ उनले भने। साथै जहाजमा देखिएको समस्याको विषयमा आवश्यक अनुसन्धानसमेत गरिने भएको छ।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  १० : ४१ बजे