६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

९५ प्रतिशत नेपाली आधारभूत खानेपानीको पहुँचमा




काठमाण्डौ चैत ९, – पानीको उपयोग तथा त्यसका स्रोतको संरक्षणमा चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ आज विश्व पानी दिवस मनाइँदैछ । ‘शान्ति र समृद्विका लागि पानी’ भन्ने मूल नाराका साथ विभिन्न सङ्कल्प तथा जनचेतनामूलक कार्यक्रम गरिँदैछ ।

प्राणी जगतका लागि हावापछिको दोस्रो महत्त्वपूर्ण तत्त्व पानीलाई मानिन्छ । पानीको महत्त्व र संरक्षणबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् १९९३ देखि हरेक वर्ष मार्च २२ लाई विश्व पानी दिवसका रूपमा मनाइने गरिन्छ । सन् १९९२ मा ब्राजिलको रियो दी जेनेरियोमा भएको संयुक्त पर्यावरण र विकासको संयुक्त राष्ट्र सङ्घको भेलाले यस दिवसको घोषणा गरेको हो । दिवसको अवसरमा पानीको संरक्षणसँगै सरसफाइ र गुणस्तरबारे छलफल र अन्तरक्रिया हुने गरेका छन् ।

नेपालमा २५ प्रतिशत जनसङ्ख्या गुणस्तरीय खानेपानीको पहुँचमा रहेको तथ्याङ्क छ । यस्तै आधारभूत खानेपानीमा ९५ प्रतिशत पहुँच पुगेको छ । कुनै पनि मूल वा स्रोतमा पाइप राखेर घरको आँगनसम्म पुर्‍याइ पानी उपभोग गर्नुलाई आधारभूत खानेपानी मानिन्छ भने आधारभूत खानेपानीलाई प्रशोधन गरी गुणस्तर मापदण्ड कायम गरिएको पानीलाई गुणस्तरीय खानेपानी भनिन्छ ।

राष्ट्रिय योजना आयोगका अनुसार गुणस्तरीय खानेपानी प्रयोग गर्ने जनसङ्ख्या सन् २०३० सम्म ९० प्रतिशत पुर्‍याउने राष्ट्रिय लक्ष्य रहेको छ । बढ्दो सहरीकरण र भौतिक पूर्वाधार निर्माणका क्रममा भएका प्राकृतिक विनाश, जलवायु परिवर्तन एवम् प्रदूषणका कारण पानीका स्रोत नष्ट भइरहेका छन् ।

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार  ९ : ४८ बजे