७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

मोरङमा आठ महिनामा ५८ जनाले नेपाली नागरिकता परित्याग गरे




मोरङ १२ चैत – मोरङमा नेपाली नागरिकता परित्याग गर्नेको सङ्ख्या बढेको छ । गएको साउनदेखि फागुन मसान्तसम्मको आठ महिनामा ५८ जनाले नेपाली नागरिकता त्यागेका जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।

अघिल्लो आर्थिक वर्षको १२ महिनामा १८ जनाले मात्रै नेपाली नागरिकता त्यागेका थिए । स्थायी रूपमा बसोबास गर्ने उद्देश्यकासाथ विदेश जाने बढेसँगै नेपाली नागरिकता परित्याग गर्नेको सङ्ख्यामा पनि बढेको हो ।

केही वर्ष अघिसम्म नागरिकता त्याग्नेहरुमा विवाह गरेर भारततर्फ जानेहरु मात्रै रहने गरेकामा पछिल्लो समयमा अरु देशमा जानेहरु बढेका मोरङ प्रशासन नागरिकता फाँटका कर्मचारी सुमन निरौलाले जानकारी दिनुभयो ।

वैवाहिक सम्बन्ध, पठनपाठन र रोजगारीलगायतका कारणले जिल्ला प्रशासन कार्यालयमा नागरिकता परित्यागको माग गर्दै निवेदन दिनेको सङ्ख्या बढ्दो छ । विषेशगरी अमेरिका, अस्ट्रेलिया र युरोपका देश जाने र त्यहाँको नागरिकता लिएपछि नेपालको नागरिकता त्याग्ने गरेको पाइएको कार्यालयले जनाएको छ ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साह नेपाली नागरिकता त्याग गरेपछि मात्रै अन्य देशको नागरिकता पाइने भएकाले त्याग गर्नेको सङ्ख्या बढेको बताउनुहुन्छ । मोरङमा भारतीय नागरिक बन्नका लागि पनि नेपाली नागरिकता परित्याग गर्ने क्रम बढ्दै गएको उहाँले बताउनुभयो ।

लामो समयदेखि वैदेशिक रोजगारी, डिभीरपिआर लिएर विदेश बसेका र विदेशी नागरिकसँग विवाह गरी उतै बस्ने नेपालीले नागरिकता त्याग गरेको प्रशासनले जनाएको छ । देशभर वार्षिक आठ सयभन्दा बढीले नागरिकता परित्यागका लागि निवेदन दिने गरेका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  १० : ५६ बजे