७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

अमेरिकाले चिनियाँ विद्युतीय गाडीमा कर बढाएर सय प्रतिशत पुर्‍यायो




एजेन्सी जेठ १- अमेरिकाले चिनियाँ विद्युतीय गाडीसहित कैयौँ सामानमा चर्को कर लगाएको छ । चिनियाँ सस्तो सामानले व्यवसायी मर्कामा परेको भन्दै अमेरिकाले कैयौँ सामानमा कर बढाएको बेलायती सञ्चारमाध्यम गार्जियनले जनाएको छ । नयाँ शुल्कअनुसार चीनबाट आयात भएका विद्युतीय गाडीमा एक सय प्रतिशत कर लाग्नेछ ।

चिनियाँ विद्युतीय कार अमेरिकामा लोकप्रिय हुँदा अमेरिकामा उत्पादित कारको बजार खस्किएपछि २५ प्रतिशतबाट बढाएर शतप्रतिशत कर लगाइएको खबरमा उल्लेख छ । यस्तै लिथियम ब्याट्रीमा साढे सात प्रतिशतबाट बढाएर २५ प्रतिशत, सौर्य ऊर्जाका सामानमा २५ प्रतिशतबाट ५० प्रतिशत र विभिन्न चिप्समा २५ प्रतिशतबाट बढाएर ५० प्रतिशत कर लाग्ने अमेरिकी राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

यस्तै स्टिल, आल्मुनियम र व्यक्तिगत सुरक्षा उपकरण पीपीईमा शून्यदेखि २५ प्रतिशतसम्म कर बढेको छ । चीनमा बनेका विद्युतीय कारसहितका अन्य सस्ता सामानले अमेरिकी ग्राहकको मन जित्दा एकातिर चीनियाँ सामान अमेरिकामा लोकप्रिय हुने र अर्कोतिर अर्बौँ डलर चीनमा पुग्ने भन्दै कर बढाइएको राष्ट्रपति कार्यालयलाई उद्धृत गर्दै खबरमा उल्लेख छ ।

चीनले आफ्नो आन्तरिक अर्थतन्त्रको कमजोरीलाई परिपूर्ति गर्न निर्यात बढाउने विकल्प खोजिरहेको बेलामा अमेरिकाले कर बढाउँदा चीनलाई समस्या पर्न सक्ने देखिएको छ । तर चीनसँगको व्यापार लडाइँका कारण सस्तो र रोजाइका सामान प्रयोग गर्न नपाएको भन्दै केही अमेरिकी उपभोक्ताले विरोध गरिसकेका छन् ।

आज बढाइएको कर ९० दिनपछि लागू हुनेछ । यो बीचमा चीनले पनि ुजस्तालाई त्यस्तैु भन्ने उखानजस्तै अमेरिकी सामानमा कर बढाउन सक्ने अनुमान रहेको खबरमा उल्लेख छ ।

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  १२ : ५२ बजे