७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

रातिको समयमा ब्यारियर खुला राख्न स्थानियको माग



कोहलपुर बाँके जेठ ३१, नेपालगन्ज १६ जयसपुरस्थित सुर्खेत रोडको नेपालगन्ज भन्सार कार्यालय अगाडिको ब्यारियर राति १० बजेपछि बन्द गरिँदा जमुनाह नाका वरिपरि र पिप्रहवा लगायतका क्षेत्रमा बसोबास गर्ने नेपालीलाई रातिको समय आवागमन गर्न सास्ती खेप्नु परेको छ ।

नेपाल–भारत नाका राति १० बजे बन्द हुने भएपनि भारतबाट आउने नेपालीलाई भारतीय सुरक्षा निकाय एसएसबीले राति १२ बजेसम्म अवस्था हेरेर छोड्ने गरेकाले भन्सार अगाडिको ब्यारियर १० बजेपछि नै बन्द हुँदा नागरिकलाई नेपालगन्ज आउन समस्या हुँदैआएको छ ।

जमुनाह नाका नजिकका नेपाली बिरामी परेपछि उनीहरूलाई नेपालगन्ज अस्पताल लैजान समेत समस्या हुनेगरेको स्थानीयले जनाएका छन् । सर्वसाधारणको सोही समस्यालाई ध्यानमा राख्दै नेपालगन्ज भन्सार कार्यालय अगाडिको ‘ब्यारियर’ रातिको समय खुल्ला राखेर स्थानीय नागरिकले भोग्दै आएको सास्ती हटाउन नेकपा ९एमाले० बाँकेका उपसचिव किशोर थापाले बाँकेका प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराउनुभयो ।

एमाले बाँकेका उपसचिव थापाले बुधबार प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई भेटेर जमुनाह नाकाको ब्यारियर रातिको समयमा बन्द हुने भएकाले त्यसको करिब एक किलोमिटर वर भन्सारले ब्यारियर लगाएर आवात–जावत रोक्नु कुनै प्रकारले जायज नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अन्तर्राष्ट्रिय सीमा नाका जमुनाह त बन्द हुने नै भयो । त्यो बन्द हुँदाहुँदै एक किलोमिटर वर रहेको भन्सारले ब्यारियर लगाएर कुन प्रयोजनका लागि राति आवात–जावत बन्द गर्नुपरेको हो, सम्बन्धित निकायले पुष्टि गर्न सकेका छैनन् ।’

यसरी औचित्यहीन र अनुपयुक्त तरिकाले रातिको समय भन्सारको ब्यारियर बन्द गर्दा सिमाक्षेत्रका २० हजार नागरिक प्रत्यक्षता प्रभावित भएको उपसचिव थापाले बताउनुभयो । उहाँले उनीहरू आकस्मिक उपचारदेखि कुनै अप्रिय र दुखद घट्ना हुँदा समेत नोपलगन्जमा रहेका आफन्तसम्म पुग्न समस्या भइरहेको बताउनुभयो ।

उपसचिव थापाले थप्नुभयो, ‘जमुनाह नाकादेखि भन्सारबिचमा ठुलो सङ्ख्यामा नागरिक बसोबास गर्छन् । रातिको समयमा दुःख बिरामी पर्दा समेत उनीहरूलाई ब्यारियर काट्न धौधौ पर्छ । जमुनाह नाका बन्द गर्दैगर्दा भन्सार ब्यारियर पनि बन्द गर्नुपर्ने औचित्य नभएकाले तत्काल यसलाई हटाउन पहल गर्नुहोला ।’

नेपाल–भारत अन्तर्राष्ट्रिय सिमाना राति १० बजे बन्द हुँदै आएको छ । बिहान ६ बजे खुल्ने गरेको छ । नेपालतर्फ सिमानाका जमुनाहसहित एक किलोमिटर वर रहेको भन्सार समेत बन्द हुन्छ । त्यसरी बन्द हुँदा भन्सार र जमुनाहसम्म बसोबास गर्ने सर्वसाधारणलाई मर्का परेको छ ।

ब्यारियर बन्द रहेकै कारण सो ब्यारियरमा ठोक्किएर दुई मोटरसाइकल यात्रुको निधन भइसकेको छ । औचित्य नभएकाले ब्यारियर रातिमा बन्द नगर्न माग गर्दै उपसचिव थापाले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराउनुभयो ।

प्रमुख जिल्ला अधिकारी रिजालले यो विषयमा आफूले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरी नेपाली नागरिकलाई सहज हुनेगरी खुलाउन पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८१, बिहिबार  १० : ५६ बजे