७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

मेलम्ची नदी धमिलो हुनासाथ काठमाण्डौमा पानी पठाउन बन्द गर्ने तयारी



काठमाण्डौ असार ३, – मेलम्ची खानेपानी विकास समितिले मेलम्ची नदी धमिलो हुन थालेपछि मेलम्ची खानेपानी बन्द गर्ने तयारी गरेको जनाएको छ । मनसुनजन्य विपद्बाट आयोजनामा हुनसक्ने सम्भावित क्षति कम गर्न नदी धमिलिने बित्तिकै खानेपानी बन्द गर्ने तयारी गरेको समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले बताउनुभयो ।

समितिले गएको जेठ ३१ गते आयोजना बन्द गर्ने तयारी गरेको थियो । बाग्मती प्रदेशमा मनसुन सक्रिय हुन समय लाग्ने भएपछि खानेपानी वितरणलाई निरन्तरता दिइएको थियो । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले बाग्मती प्रदेशमा मनसुन सक्रिय भएसँगै वर्षा हुन थालेको छ ।

मनसुन सक्रिए भए पनि ठूलो वर्षा नभएकाले मेलम्ची बन्द नगरिएको समितिले जनाएको छ । यदि ठूलो वर्षा भएर मेलम्ची नदी धमिलो हुन शुरु भएमा धमिलो पानी आएको १० मिनेटभित्र मेलम्ची बन्द गर्न सकिने समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले बताउनुभयो ।

लामिछानेका अनुसार अहिले दैनिक २० करोड लिटर पानी उपत्यकावासीलाई वितरण भइरहेको छ । मनसुनजन्य विपत्तिबाट मेलम्ची खानेपानी आयोजनालाई जोगाउन सरकारले वर्षा शुरु भएसँगै बन्द गर्ने र वर्षा सकिएपछि खोल्दै आइरहेको छ ।

प्रकाशित मिति : ४ असार २०८१, सोमबार  १२ : ०० बजे