६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

रोजगारीका लागि तेस्रो देशमा गएका किशोरीको अवस्था अज्ञात



कोहलपुर बाँके पुस १७- रोजगारी तथा विभिन्न प्रलोभनमा परेर भारत लगायत तेस्रो मुलुकमा पुगेका किशोरी र बालबालिकाको अवस्था अज्ञात रहेको माइती नेपालले जनाएको छ ।

माइती नेपाल नेपालगन्जका प्रमुख केशव कोइरालाले वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै खोजतलासका लागि निवेदन परेकामध्ये अझै तीन सय ८४ जनाको अवस्था पत्ता लाग्न नसकेको बताउनुभयो । उहाँले जोखिमपूर्ण काम गर्न विदेश गएका ६६२ जना किशोरी तथा बालबालिकाको विषयमा खोजतलास गरिदिन भनी परिवारबाट निवेदन परेकोमा २७८ जना मात्रै फेला परेको र अन्यको अवस्था अज्ञात रहेको बताउनुभयो ।

कोइरालाले भन्नुभयो, “अज्ञात अवस्थामा रहेका ती किशोरी तथा बालबालिकाको अवस्था पत्ता लगाउन धेरै संयन्त्रलाई प्रयोग गर्‍यो, तर केहीको अवस्था पत्ता लगायौ, धेरैको अवस्था अझै पत्ता लाग्न सकेको छैन ।”

मानव बेचबिखन तथा ओसारपसार विरुद्ध काम गर्ने भारत र विदेशका विभिन्न संस्थासँग समन्वय गरेर खोजी गर्ने काम गरिएको कोइरालाले बताउनुभयो । माइती नेपाल नेपालगन्जका अनुसार गत वर्ष जोखिमपूर्ण यात्रामा रहेका पाँच सय ९ जनालाई सीमा क्षेत्रबाट उद्धार गरिएको छ । विभिन्न जिल्लाबाट मानव दलालमार्फत् जोखिमपूर्ण काममा जान लागेका ती किशोरी तथा बालबालिकालाई नेपाल–भारत सीमा क्षेत्रबाट उद्धार गरेर घर फर्काइएको हो ।

माइती नेपाल नेपालगन्जले गएको एक वर्षमा २ जना विरुद्ध मानव बेचबिखन सम्बन्धी घटनामा मुद्दा दर्ता गरेको थियो भने ४ जना किशोरीलाई सिपमूलक तालिम पनि प्रदान गरेको थियो । त्यसैगरी, एक वर्षमा १२ वटा घरेलु हिंसाको घटना आएकोमा ५ वटा घटनाको समाधान गरिएको र ३ वटा जबरजस्ती करणीका घटनामा माइती नेपालले पीडितको पक्षमा वकालत गरेको प्रमुख कोइरालाले बताउनुभयो । उहाँले पछिल्लो समयमा विभिन्न प्रकारका सामाजिक सञ्जाल नेटवर्कको प्रयोग गरेर मानवबेचविखन भइरहेकोले सो नियन्त्रण पनि निकै चुनौतीपूर्ण बन्दै गएको बताउनुभयो ।

विगतमा फेसबुक, टिकटक, भाइवर लगायतको प्रयोगबाट किशोरी र बालबालिकालाई विभिन्न प्रलोभन दिएर बेचबिखनका लागि सहमत गराइने गरिएकोमा हाल आएर पब्जी लगायतका गेमको माध्यमबाट पनि सो कार्य हुन थालेको जानकारी आएको माइती नेपाल नेपालगन्जले जनाएको छ ।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ८ : १६ बजे