६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

बाँकेको बालसुधार गृहका नाबालक कैदी र प्रशासनबिच सहमती




कोहलपुर बाँके पुस १७- बाँकेको नौबास्तास्थित बालसुधार गृहका नाबालक कैदी र स्थानीय प्रशासनको बिचमा ५ बुँदे सहमति भएको छ । सहमतिसँगै १४ पुसबाट सुधार गृहमा शुरु भएको विवादको शृङ्खला टुङ्गिएको छ ।

बैजनाथ गाउँपालिका–२ स्थित बाँके बाल सुधार गृहका कैदीहरूका आधारभूत मागहरू सम्बोधन गर्ने सहमति भएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले रातोपाटीलाई बताए । उनले भने–‘प्रजिअको तर्फबाट पुरा गर्न सक्ने मागहरू पुरा गर्छु, अन्य निकायसँग समन्वय गरेर पुरा गर्ने मागहरू पुरा गर्न पहल गर्छु ।’
स्थानीय प्रशासन र कैदीहरूको बिचमा गुणस्तरीय खानेपानीको आपूर्ति, मनोरञ्जनको व्यवस्था र पढ्ने वातावरण मिलाउने, उपचारको प्रबन्ध गर्ने र सुधार गृह भित्र सीपमूलक तालिम सञ्चालन गर्ने सहमति भएको छ । त्यस्तै, सुधार गृहमा मनोसामाजिक परामर्श दिने व्यवस्था मिलाउने पनि सहमति भएको छ । सहमतिसँगै कैदीहरू दुईवटा ब्लकमा बस्न सहमत भएका हुन् ।

सुधार गृहबाट १४ जना नाबालक कैदीहरू फरार भएका छन् । उनीहरूको खोजीकार्य जारी रहेको प्रजिअ पोखरेलले बताए । नाबालक अवस्थामा थुनामा परेका बालबालिका १८ वर्ष पुरा हुँदा पनि बाल सुधार गृहमा नै राख्नुपर्ने बाध्यात्मक कानुनी व्यवस्थाले यस्ता समस्या आइरहेको प्रजिअ पोखरेलले बताए । उनले भने– ‘१८ वर्ष उमेर पुरा भएकालाई कारागारमा सार्नुपर्छ, त्यस्तै हाम्रो बाल सुधार गृह होस्टेल मोडलमा सञ्चालन गर्नुपर्छ ।’

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ८ : २६ बजे