७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

एमाले अध्यक्ष ओलीको निजी निवास बालकोटमा खटिएका सुरक्षा प्रमुखको मृत्यु



काठमाण्डौ असार २२, – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवास बालकोटमा सुरक्षार्थ खटिएका सुरक्षा प्रमुख उमेश थापाको ज्यान गएको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा–९ गुण्डु बस्ने सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकमा दरबन्दी भएका थापा अध्यक्ष ओलीको निजी निवास बालकोटमा सुरक्षा प्रमुखका रूपमा खटिनुभएको थियो ।

सशस्त्र प्रहरी निरीक्षक ४२ वर्षका थापा हिजो बेलुका खाना खाएर सुतेको र आज बिहान साढे ५ बजे अचेत अवस्थामा फेला परेका जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

परिसरका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी राजन कार्कीका अनुसार थापालाई तत्कालै उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो । उहाँको उपचारका क्रममा ज्यान गएको हो ।

घटनाको थप अनुसन्धान भइरहेको र शव पोस्टमाटर्मका लागि टिचिङ अस्पताल महाराजगञ्जको त्रिवि शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ असार २०८१, शनिबार  ८ : ४२ बजे