६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

गएको वैशाखमा छोरासहित हराएकी बाँकेकि एक महिला भुटानमा बन्दी



बाँके असार २५ – बैद्यनाथ गाउँपालिका–७ बाट गएको वैशाख ५ मा छोरासहित हराएकी एक महिला भुटानमा बन्दी भएको खुलेको छ । माइत जान्छु भनेर चार वर्षीय छोरासहित घरबाट हिँडेकी गणेश ठकुरीकी श्रीमती भुटानमा बेचिएको र बन्दी भएको खुलेको हो ।

रोजगारीका लागि भारतमा रहेका ठकुरी श्रीमती हराएको चार दिनमै नेपाल फर्केर सोधिखोजीमा लाग्नुभएको थियो । खोजी गर्दा पनि श्रीमती सम्पर्कमा नआएको र पछि नेपालगञ्जकी रमिला विक नाम गरेकी एक महिलाले ३० हजार भारतीय रुपैयाँमा बेचबिखन गरेको थाहा पाएको उहाँको भनाइ छ ।

भुटानमा गाडी चलाउने नेपाली चालक सुरज विकमार्फत खबर पाएपछि मात्रै भुटानमा बेचिएकोबारे थाहा भएको गणेशको भनाइ छ । सामाजिक सञ्जालमा राखिएको तस्बिरअनुसार सोधीखोजी गर्दा ठेगाना र नामसमेत मिलेको भनेर विकले आफूलाई जानकारी गराएको गणेशले बताउनुभयो । जतिसक्दो चाँडो उद्दारका लागि पहिल गरिदिन प्रहरी प्रशासनमा अनुरोध गरेको उहाँले बताउनुभयो ।

वडाअध्यक्ष दिनेशकुमार थारुले उद्धारका लागि वडा र पालिकामा जानकारी आएको र लगत्तै खोजीका लागि चारैतिर पहल गरिरहेको बताउनुभयो । प्रहरी र पालिकाको वैदेशिक रोजगार शाखामार्फत समन्वय भइरहेको उहाँले बताउनुभयो । अहिले भुटानमा रहेको निश्चित भएसँगै जतिसक्दो छिटो नेपाल झिकाउने प्रयास भैरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित मिति : २६ असार २०८१, मंगलबार  १२ : ०२ बजे