६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

अस्पतालको टिकटमा लाग्ने शुल्क स्वास्थ्य बीमा गर्नेलाई घट्यो




काठमाण्डौ माघ ४,– स्वास्थ्य बीमा गरेकाहरुलाई अस्पतालको बहिरङ्ग र इमर्जेन्सी सेवा टिकटमा लाग्ने शुल्क घटेको छ ।

बीमितको आर्थिक अवस्थालाई ध्यान दिँदै अस्पतालमा लाग्ने बहिरङ्ग र इमर्जेन्सी सेवाका लागि लाग्ने टिकट शुल्क घटाउने निर्णय भएको स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी ओमकुमारी कँडेलले बताउनुभयो । उहाँका अनुसार बहिरङ्ग सेवा ५० रुपैयाँ र इमर्जेन्सी सेवाबापतको शुल्क एक सय रुपैयाँ कायम गर्ने निर्णय भएको छ ।

बहिरङ्ग सेवा र इमर्जेन्सी सेवामा घटाइएको शुल्क यही माघ ८ गतेदेखि लागू हुने उहाँले बताउनुभयो । यसअघि बहिरङ्ग सेवा शुल्क एक सय र इमर्जेन्सी सेवा शुल्क चार सय रुपैयाँ थियो । स्वास्थ्य बीमा नवीकरण गरेका तर वर्षभरीमा कुनै पनि स्वास्थ्य बीमा सुविधा उपभोग नगरेका वीमितलाई नवीकरण गर्दा १० प्रतिशत रकम छुट गरिएको पनि उहाँले बताउनुभयो ।

यस्तै, स्वास्थ्य बीमा कार्यक्रममा दर्ता भएपछि सेवा शुरु हुने समय तीन महिनाको रहेकामा त्यसलाई घटाएर दुई महिना कायम गरिएको छ ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहिबार  ६ : २९ बजे