६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

बाल सुधार गृहबाट फरार १४ जना सम्पर्कविहीन, एक जना सम्पर्कमा आए



कोहलपुर बाँके, पुस १७ – बाँकेको नौवस्तास्थित बाल सुधार गृहबाट फरार रहेका मध्ये एक जना (बालबिज्याईकर्ता) सम्पर्कमा आएका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीका अनुसार अझै १४ जना भने सम्पर्कविहीन नै छन् ।

उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । मङ्गलबार पनि सुरक्षा व्यवस्था प्रभावकारी बनाइएको र सुधार गृहको अवस्था सामान्य रहेको डिएसपी तिवारीले बताउनुभयो । यसअघि नेपालगन्ज र अन्य बाल सुधारगृहबाट तनाव सिर्जना भएपछि फरार रहेका अधिकांश आफैँ सम्पर्कमा आएकाले नौवस्ताबाट फरार भएकाहरू पनि गृहमै फिर्ता हुने प्रहरीको अनुमान छ ।

बाल सुधार गृहमा १८ वर्षभन्दा कम उमेरकालाई मात्रै राख्नुपर्नेमा १८ वर्ष उमेर पुरा भइसकेकाहरू समेत रहेकाले आपसी विवाद बढेको हो । नौवस्ता बाल सुधार गृहमा चलेको आपसी विवाद सुरक्षा सहित वार्तामा सोमबार राती समाधान भएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी पोखरेलले भन्नुभयो, “वार्ताको गरी उनीहरूको जायज माग पुरा गर्ने सहमति भएको छ, थप सुरक्षा कारबाही पनि गर्नुपरेको छ । उनीहरूले राखेको सफा पानी, उपचार प्रबन्ध, शिक्षा, सीप विकास, मनोरञ्जन जस्ता विषयमा समन्वय र सहजीकरण गरी समाधान खोजिने मौखिक सहमति भएको छ ।”

नौवस्तामा एक सय १६ बालबिज्याईकर्ता छन् । यसअघि बाँकेको हिरमिनियामा रहेको बाल सुधार गृहमा आपसी झडपमा एक जना बालबिज्याईकर्ताको निधन समेत भएको थियो ।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ८ : १२ बजे