६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

दुर्घटना कम गर्नका लागि दाङमा ‘टाइम कार्ड’ लागु



देउखुरी दाङ पुस २० गते । केही दिनअघि तीव्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा सख्त घाइते भएका पश्चिम दाङका एक किशोरको उपचारको क्रममा ज्यान गयो । उनको ज्यान जानुका कारण तीव्र गति भएको पुष्टि प्रहरीले गर्‍यो । गत सोमबार विद्यालयबाट घर फर्कंदै गरेका आठ वर्षीय बालक सागर चौधरीलाई यात्रुवाहक बसले तुलसीपुर उपमहानगरपालिका–१८, दुधरासमा ठक्कर दिँदा घटनास्थलमै मृत्यु भयो ।

चालकले लापरबाही गरी तीव्र गतिमा सवारी चलाउँदा दुर्घटना भएको स्थानीयको भनाइ छ । चालु आर्थिक वर्ष २०८०/८१ यो अवधिमा दाङमा नौ वटा सवारी दुर्घटना भएको र त्यसबाट दुई जनाले ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख किरण मल्लले जानकारी दिनुभयो । ट्राफिक प्रहरी प्रमुख मल्लका अनुसार दुर्घटनाबाट मृत्यु भएका अधिकांशले सवारी नियमको उल्लङ्घन गरेको पाइएको छ।

तीव्र गति, मादक पदार्थ सेवन (मापसे) र लापरबाही नै दुर्घटनाको मूल कारण हो भने सडकको अवस्था पनि उस्तै छ । साँघुरो सडक, राजमार्गको दुरवस्था, नियमित सडकको मर्मतसम्भार नहुनु पनि दुर्घटनाको कारण बनेको छ । ट्राफिक प्रहरीका अनुसार यान्त्रिक साधनको गडबडी, मौसम खराबिका कारण लाग्ने हुस्सु, कुहिरोका कारण पनि दुर्घटना गराउने गरेको छ । दुर्घटना भएपछि घाइतेको समयमै उपचार हुने भरपर्दो स्वास्थ्य सेवा नहुँदा दुर्घटनामा परेर अकालमा ज्यान गुमाउनु परेको छ ।

दाङमा सडक दुर्घटना बढ्न थालेपछि सवारीसाधनलाई टाइम कार्ड लागु गर्न थालिएको छ । दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीका अनुसार जिल्ला सुरक्षा समितिको बैठक बसेर सवारीसाधनमा टाइम कार्ड लागु गर्ने निर्णय गरिएको हो । उहाँले भन्नुभयो, “टाइम कार्डको मापदण्ड के राख्ने, कति समय राख्ने भन्ने विषयमा सरोकारवालाको बैठकबाट निष्कर्षमा पुगिन्छ । राजर्मागमा गुड्ने सवारीसाधन तथा यात्रुको सुरक्षाका लागि प्रहरी जाँचमा कडाइ गर्न भने सुरु भइसकेको छ ।”

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक रामबहादुर केसीले दुर्घटनाबाट हुने मानवीय क्षति न्यूनीकरणका लागि प्रहरीले जाँचलाई थप व्यवस्थित बनाउने जानकारी दिनुभयो । यातायात व्यवसायी भरतनाथ योगीले भन्नुभयो, “जनतासँग जोडिएको स्थानीय सरकारले पनि सवारी दुर्घटनाको विषयमा चासो दिनु पर्छ । नागरिकको सुरक्षा गर्ने दायित्व जनप्रतिनिधिको पनि हो ।”

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ५ : ५१ बजे