६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

गाजावासीलाई बसाइँ सर्न इजरायलले गरेको आह्वानबाट राष्ट्र सङ्घ चिन्तित





काठमाडौं पुस २०- इजरायलले गाजावासीलाई बसाइँ सर्न गरेको आह्वान चिन्ताको विषय रहेको राष्ट्रसङ्घले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार प्रमुख भोल्कर टर्कले प्यालेस्टिनीहरूलाई गाजा छाड्न वरिष्ठ इजरायली अधिकारीहरूले गरेको मागसम्बन्धी टिप्पणीबाट आफू अत्यन्त चिन्तित भएको बताउनुभएको छ ।

इजरायलका राष्ट्रिय सुरक्षामन्त्री इटामार बेन–गभिरले गएको सोमवार गाजापट्टीमा इजरायली बस्तीको पुनःस्थापनलाई प्रवर्द्धन गर्न आह्वान गर्नुभएको थियो । त्यसको एक दिनअघि अति दक्षिणपन्थी वित्तमन्त्री बेजेलेल स्मोट्रिचले पनि गाजाका झण्डै २४ लाख प्यालेस्टिनीहरूलाई गाजा छाड्नका लागि प्रोत्साहन गर्नुपर्ने बताउनुभएको थियो ।

गाजाका नागरिकहरूलाई तेस्रो देशमा स्थानान्तरण गर्ने योजना अत्यन्त चिन्तित रहेको मानवअधिकार प्रमुख टर्कले बताउनुभएको समाचार संस्था एएफपीले जनाएको छ । उहाँले अन्तर्राष्ट्रिय कानुनहरूले संरक्षित क्षेत्रभित्र संरक्षित व्यक्तिहरूलाई जबरजस्ती स्थानान्तरण वा कब्जा गरिएको क्षेत्रबाट हुने निर्वासनलाई निषेध गरेको उल्लेख गर्नुभएको छ।

गएको अक्टोबर ७ तारिखमा लडाकु समूह हमासले इजरायलमा आक्रमण गरेपछि लडाइँ शुरु भएको थियो । हमास लडाकु र इजरायलबीचको तीन महिनाको युद्धका कारण गाजाका धेरैजसो बासिन्दा आफ्नो घर छाड्न बाध्य भएका छन् ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ५ : ५४ बजे