६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

आज माघे संक्रान्ति : थारु समुदायमा माघीको रौनक



कोहलपुर बाँके माघ १ – पश्चिम तराईका थारू समुदायमा माघीको रौनक छाएको छ । कामका लागि बाहिर गएकाहरु माघी मनाउन घर फर्किएका छन् ।

माघी पर्वलाई थारू समुदायले नयाँ वर्षका रुपमा समेत मान्ने गर्छन् । गएराति जाग्राम बसेर भजन कीर्तन गर्ने र आज बिहानै नजिकैको खोला नदीमा गइ नुहाउने गरिन्छ । नुहाएपछि आफूभन्दा ठूला मान्यजनसँग आशीर्वाद लिने र साथीभाइसँग अङ्कमाल गरी माघीको शुभकामना आदानप्रदान गर्ने गरिन्छ ।

थारू समुदायले माघीमै वर्ष दिनको योजना बनाउने गर्छन् । माघीमा बनाएको योजनाअनुसार नै परिवारका सदस्यहरु सबै आ–आफ्नो काममा लाग्छन् । घर छुट्टिने, खेतबाली लगाउने निर्णय पनि माघीमै गरिन्छ । माघीमा गाउँका सबै जना जम्मा भएर वर्षदिनका लागि बड्घर अर्थात् गाउँको अगुवा, चौकीदार र गुरुवा चयन गर्ने गरिन्छ ।

माघीमा चयन गरिने अगुवाले वर्ष दिनभरि गाउँको विकास निर्माण, सुरक्षा, सूचना, कुलोपानी र पूजाआजामा अगुवाइ गर्ने गर्छन् । यस्तै, तराईका कतिपय ठाउँमा भने आज माघ १ गतेलाई नहान अर्थात नुहाउने पर्वका रूपमा मनाइन्छ ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ७ : १० बजे