६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

आगो निभाउन नगरपालिकाको लापर्बाही गरेको भन्दै व्यापारीले चैनपुर बजार बन्द गरे



बझाङ माघ २ – बझाङको सदरमुकाम चैनपुरमा लागेको आगो निभाउन नगरपालिकाको लापर्बाही गरेको भन्दै व्यापारीहरूले बजार बन्द गरेका छन् ।

जयपृथ्वी नगरपालिकाको दमकल समयमा नपुगेका कारण आगलागीबाट एक करोड रुपैयाँभन्दा बढीको क्षति भएको र अरू व्यापारी पनि असुरक्षित भएको भन्दै उनीहरूले बजार बन्द गराएका हुन ।

हिजो दिउँसो सदरमुकाम चैनपुरको मुख्य चोकमा रहेको ४८ वर्ष पुरानो कपडा पसलमा आगलागी भएर ध्वस्त भएको थियो । आगलागी भएको आधा घण्टापछि मात्रै जयपृथ्वी नगरपालिकाको दमकल आगो निभाउन पुगेको थियो । पानी सकिएपछि भर्न गएको दमकल एक घण्टासम्म पनि आइपुगेको थिएन । तर दमकल आइपुग्ने बेलासम्म पसल नष्ट भइसकेको थियो । स्थानीयले खानेपानीको मुख्य पाइप लाइन तोडेर आगो निभाएका थिए ।

दमकलमा फेरि पानी भर्नका लागि नजिकै पहुँच मार्ग नबनाउनु आफूहरूको कमजोरी रहेको र यो घटनाबाट पाठ सिक्दै आउँदा दिनमा यसो हुन नदिने जयपृथ्वी नगरपालिकाका मेयर चेतराज बजालले बताउनुभयो ।

उद्योग वाणिज्य सङ्घ बझाङका अध्यक्ष दानबहादुर सुर्मेलीले नगरपालिकाले विपद्सम्बन्धी तयारी नगरेका कारण आफूहरूको व्यवसाय पनि जोखिममा रहेको भन्दै बजार बन्द गराएको बताउनुभयो । विपद् प्रतिकार्यका लागि प्रभावकारी व्यवस्थापन गर्न नगरपालिकालाई ज्ञापन पत्र दिने तयारी भइरहेको उहाँको भनाइ छ ।

हिजो दिउँसो चैनपुर मेन चौराहमा वीरेन्द्र सिंहले सञ्चालन गर्दै आउनुभएको जङ्गबहादुर स्टोरमा आगलागी भएको थियो । ( उज्यालो )

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  ११ : ३४ बजे