६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

पीएम कप क्रिकेट : बागमतीले कोशीलाई ६४ रन हरायो



काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा बागमती प्रदेशले कोशी प्रदेशलाई ६४ रनले पराजित गरेको छ ।

जीतका लागि दुई सय ७४ रनको बलियो लक्ष्य पच्छाएको कोशी प्रदेशले ४७ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै दुई सय नौ रनमा समेटियो । कोशी प्रदेशका लागि सुजन थपलियाले सर्वाधिक ५९ रनको योगदान दिए ।

उनले ७६ बल खेल्दै चार चौका र तीन छक्का प्रहार गरे । साथै कप्तान अङ्कित सुवेदीले ५३ रन बनाए । उनले ६५ बलमा चार चौका र दुई छक्का प्रहार गरे । अशीष भट्टराईले ३२, सोनु अनसरीले २१ तथा हेमन्त राईले १० रन बनाए ।

बलिङतर्फ बागमतीका इशान पाण्डे पाँच विकेट लिए भने सूर्य तामाङले दुई विकेट लिए । त्यस्तै प्रतीक श्रेष्ठ र रिजन ढकालले समान एकरएक विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बागमतीले ४८ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै दुई सय ७३ रनको योगफल बनाएको थियो । बागमतीका लागि आशुतोष घिरैयाले एक सय ११ बलमा एक सय १८ रन जोडे ।

उनले कुल १६ चौका र २ छक्का प्रहार गरे ।

त्यसैगरी कप्तान रित गौतमले ४९, रविन जोशीले ४३ र प्रतिक श्रेष्ठले १९ रन बनाए । दोस्रो विकेटका लागि आँशुतोष र रितले १ सय ३१ रनको साझेदारी गरेका थिए ।

कोशी प्रदेशका अभ्यास तिमिल्सिनाले तीन विकेट लिए भने हेमन्त राई र कमल खत्रीले समान दुई दुई विकेट झारे । त्यस्तै फ्रिर्दोश अन्सारीले एक विकेट लिएका थिए ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  १२ : ०५ बजे