६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

अयोध्यामा निर्मित मन्दिरमा रामको मूर्तिमा प्राणप्रतिष्ठा, हिन्दू राष्ट्रवादीहरूको दशकौँ पुरानो वाचा पूरा




एजेन्सी माघ ८, भारतको उत्तर प्रदेश राज्यको अयोध्या नगरमा निर्मित राममन्दिरमा रामको मूर्तिमा प्राणप्रतिष्ठा सम्पन्न भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा रामको मूर्तिमा प्राणप्रतिष्ठासहित मन्दिरको उद्घाटन कार्यक्रम सम्पन्न भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सन् १९९२ मा हिन्दूहरूको भिडले भत्काइदिएको १६ औँ शताब्दीको मस्जिदलाई राममन्दिरले विस्थापन गरेको छ । सन् १९९२ मा मस्जिद भत्काएपछि भारतभर फैलिएको दङ्गामा झन्डै २ हजार जनाले ज्यान गुमाएका थिए । मन्दिर निर्माणले अयोध्यमा रामको मन्दिर बनाउने हिन्दू राष्ट्रवादीहरूको दशकौँ पुरानो वाचा पूरा भएको छ ।

रामको जन्मस्थानमा रहेको मन्दिर मुस्लिम अतिक्रमणकारीहरूले भत्काएर १६ औँ शताब्दीमा त्यहाँ बाबरी मस्जिद बनाएको कैयौँ हिन्दूहरूले विश्वास गर्छन् । हिन्दूहरू रामलाई भगवान् विष्णुको अवतार मान्छन् । तर केही हिन्दू सन्त नेता तथा विपक्षीहरूले भने मन्दिरमा भएको प्राणप्रतिष्ठालाई नरेन्द्र मोदीले राजनीतिक लाभको विषय बनाएको भन्दै आफू यो कार्यक्रममा सहभागी नहुने घोषणा गरेका थिए ।

अयोध्यामा राममन्दिर बनाउने अभियान चलाएकै कारण सन् १९९० को दशकमा भारतीय जनता पार्टीको राजनीतिक उदय भएको ठानिन्छ ।

झन्डै २१ करोड ७० लाख अमेरिकी डलरको लागतमा बनेको नयाँ मन्दिर ३ तले छ । मन्दिरमा राख्न बनाएको झन्डै सवा ४ फिट अग्लो रामको मूर्ति गएको हप्ता मात्र सार्वजनिक गरिएको थियो । (उज्यालो अनलाईन )

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  १२ : ०२ बजे