७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

आज र भोलि पानी पर्ने सम्भावना नभएको मौसमविद्को भनाई



काठमाण्डौ माघ १५, ( पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि आज र भोलि देशभर पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।

पश्चिमी वायुका कारण पर्सि बुधवारदेखि सुदूरपश्चिमी क्षेत्रका पहाडी भेगमा हल्कादेखि छिटपुट वर्षाको सम्भावना भए पनि देशभर ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद् मिनकुमार अर्यालले बताउनुुभयो । पर्सि लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा हल्का पानी पर्न सक्ने उहाँको भनाइ छ ।

यस्तै, तराई मधेसमा बिहानपख लाग्ने बाक्लोे हुस्सु र कुहिरो दिउँसोपछि बिस्तारै हट्दै जान थालेको छ । यसले गर्दा तराईमा चिसो केही कम हुने मौसमविद्को भनाइ छ ।

तराईमा लामो समयदेखि लागेको बाक्लो हुस्सु र कुहिरोका कारण जनजीवन प्रभावित हुँदै आएको छ । तीव्र गतिको हावा चलेमा, पानी परेमा वा घाम लागेर तापक्रम बढेमा हुस्सु र कुहिरो हट्दै जाने मौसमविद्ले बताएका छन् ।

आज काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम हिजोभन्दा ० दशमलव ९ डिग्री सेल्सियसले बढेर ३ डिग्री पुगेको छ । हिजो काठमाण्डौ उपत्यकामा यो वर्षको सबैभन्दा कम न्यूनतम तापक्रम २ दशमलव १ डिग्री सेल्सियस मापन भएको थियो ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  ८ : १५ बजे