७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

भाइरल ज्वरो बढेपछि बाजुरामा विद्यालय बन्द




बाजुरा माघ १७ ( बाजुरामा भाइरल ज्वरो र रुघाखोकीबाट बालबालिका बिरामी पर्न थालेका छन् । चिसो बढेसँगै रुघाखोकी र भाइरल ज्वरोको सङ्क्रमण देखिन थालेको हो ।

लामो समयदेखि पानी नपर्दा धुलो र धुवाँका कारण समुदायमा नै रुघाखोकी फैलिएको स्वास्थ्यकर्मीको भनाइ छ । बाजुराको पूर्वी–उत्तरी भेग स्वामीकार्तिक खापर गाउँपालिकामा भाइरल ज्वरो र रुघाखोकीको सङ्क्रमण बढेपछि माझपाटा आधारभूत विद्यालय एक हप्ताका लागि बन्द गरिएको छ ।

प्रधानाध्यापक दानबहादुर धामीले भाइरल ज्वरो र रुखाखोकीले बालबालिका प्रभावित हुन थालेकाले थप फैलिन नदिन विद्यालय बन्द गरिएकोे बताउनुभयो । यसअघि स्वामीकार्तिक गाउँपालिकाको जुकोटमा रहेको शम्भुसुनन्दा माध्यमिक विद्यालयका बालबालिकामा पनि भाइरल ज्वरोको समस्या देखिएको थियो ।

स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरत रोकायाले भाइरल ज्वरो रोकथामका लागि स्वास्थ्यकर्मीलाई औषधि दिएर उपचारमा खटाउने बताउनुभयो । कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका डा। रञ्जित शाहले रुघाखोकी हावा र हाँछ्युका माध्यमबाट सजिलै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले सुरक्षित रहन आग्रह गर्नुभयो ।

सङ्क्रमणबाट जोगिन खानेकुरामा ध्यान दिने, झोलिला खानेकुरा खाने, तातोपानीको प्रयोग गर्ने, न्यानो कपडा लगाउने, हाँछ्यु गर्दा नाख, मुख छोप्ने र हिँडडुल गर्दा वा अन्य व्यक्तिसँगै रहँदा अनिवार्य मास्कको प्रयोग गर्न उहाँको सुझाव छ ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ९ : १४ बजे