७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको ज्यान गयो




काठमाण्डौ फागुन ४, ( सिन्धुलीको दुधौली नगरपालिका वडा नं ९ आँपडाँडामा आज बिहान दुई वटा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा वडा नं १० बस्ने बेचु कुमरको ज्यान गएको छ ।

दुर्घटनामा अर्को मोटरसाइकलमा रहेका स्थानीय हरि राउत घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिनुभयो । घाइते राउतको दुधौलीमा रहेको प्रयाग अस्पतालमा उपचार भइरहेको छ ।

यसैबीच, बझाङको तलकोटबाट चैनपुर आइरहेको जीप तल्कोट गाउँपालिकाको साइलाबगड नजिक दुर्घटना हुँदा तलकोट–१ की सुस्मिता कठायतको ज्यान गएको छ ।

दुर्घटनामा घाइते भएका तलकोट–३ का जीप चालक राजेशकुमार कडाल र मष्टा गाउँपालिका–५ का सह–चालक कमल कठायतको जिल्ला अस्पताल चैनपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै, तनहुँको शुक्लागण्डकी नगरपालिका–१० छाब्दी देउरालीमा हिजो बेलुका ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा रहेका शुक्लागण्डकी–१ थप्रेककी पीपलकौरी गुरुङको ज्यान गएको छ।

ट्र्याक्टर चालक र मोटरसाइकल चालकलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताउनुभयो ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ८ : २२ बजे