७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

स्थानीय तहका उजुरी अख्तियारमा बढ्दै



कपिलवस्तु फागुन ७ गते स्थानीय तहमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलमा उजुरीको चाङ लागेको छ । कपिलवस्तुको यशोधरा गाउँपालिकामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनसम्बन्धी स्थानीय तह स्तरीय अन्तरक्रिया कार्यक्रम सो कुरा जनाकारी गराइएको हो । जिल्लाका स्थानीय तहमा सरकारी अख्तियारीको दुरुपयोग भएको भन्दै उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले जनाएको छ ।

आर्थिक वर्ष ०८०।०८१ को माघ मसान्तसम्मको दुई सय ६७ ओटा उजुरी परेको कार्यालयले जनाएको छ । सोमध्ये एक सय नौ उजुरी मात्रै फर्स्यौट भएको छ भने एक सय ५८ वटा उजुरी अनुसन्धानकै क्रममा रहेको कार्यालयले जनाएको छ ।

सो अवसरमा बोल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका उप सचिव ठाकुर प्रसाद आचार्यले अनियमितताका कारण देश जरजर अवस्थामा पुगेको बताउनुभयो । उहाँले भएको अनियमिततालाई मुद्दा चलाएर र छानबिन गरेर टुङ्गिन नसकिने जानकारी दिनुभयो । जनचेतना लगायतको विभिन्न जागरण कार्यक्रमबाट मात्र अनियमिततामा कमी हुने उहाँको भनाइ छ ।

कार्यालयका अनुसार चालु आर्थिक वर्षमा दश वटा स्थानीय तहमध्ये सबै भन्दा धेरै कृष्णनगर नगरपालिकामा ५९ वटा उजुरी परेको छ भने ३० वटा फर्स्यौट भएको छ । त्यस्तै, कपिलवस्तु नगरपालिकामा ४७ मध्ये २० वटा फर्स्यौट, बुद्धभुमि नगरपालिकामा ३५ वटा, १७ वटा फर्स्यौट, बाणगंगा नगरपालिकामा नौ वटामा चार फर्स्यौट, शिवराजमा पाँच, महाराजगन्ज नगरपालिकामा १४ वटा उजुरीमा फर्स्यौट भएको हो ।

त्यस्तै यशोधरा गाउँपालिकामा ३४ मा तीन वटा फर्स्यौट, मायादेवीमा ३० मा १३ वटा फर्स्यौट, विजयनगरमा २१ मा नौ वटा फर्स्यौट र शुद्धोदन गाउँपालिकामा १३ वटामा ६ ओटा फर्स्यौट भएको कार्यालयले जनाएको छ ।

कार्यक्रममा शाखा अधिकृत गोकर्ण राज घिमिरे, गाउँपालिका अध्यक्ष शिव दयाल तिवारी, प्रमुख प्रशासकीय अधिकृत राम चन्द्र ढकाल, लेखा अधिकृत नीराजन राज लम्साल, वडाध्यक्ष लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  ११ : ११ बजे