७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

इन्डोनेसियामा उडिरहेको विमानमा पाइलट झन्डै आधा घण्टा निदाएको प्रतिवेदन सार्वजनिक




एजेन्सी फागुन २८, इन्डोनेसियामा उडिरहेको एउटा विमानका दुवै जना पाइलट झन्डै २८ मिनेटसम्म निदाएको प्रतिवेदन सार्वजनिक भएको छ । सुलवेसीदेखि राजधानी जकार्तासम्मको उडानका क्रममा एअरबस ए ३२० उडानका दुवै जना पाइलट निदाउँदा विमान छोटो समयका लागि आफ्नो बाटोबाट बाहिर गएको प्रतिवेदन सार्वजनिक भएको बीबीसीले जनाएको छ ।

बटिक एअरको एक उडानका क्रममा विमानमा भएका दुवै जना पाइलट निदाएको घटना सार्वजनिक भएपछि त्यसबारे छानबिन थालेको इन्डोनेसियाको यातायात मन्त्रालयले जनाएको छ । झन्डै २८ मिनेटसम्म दुवै जना पाइलट निदाएको भए पनि पछि विमान सकुशल अवतरण भएको थियो । विमानमा एक सय ५३ जना यात्रु र चालक दलका सदस्य थिए ।

गएको जनवरी २५ तारिखमा भएको घटनापछि दुवै जना पाइलट निलम्बनमा परेका छन् । घटनामा ३२ वर्षका लिड–पाइलटले आफूलाई आरामको आवश्यकता परेको भन्दै विमानको हेरविचार गर्न भनेका र लगत्तै २८ वर्षका को–पाइलट पनि निदाएका यातायात मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ ।

जकार्तामा रहेको एअर ट्राफिक कन्ट्रोल कार्यालयले विमानको ककपिटमा सम्पर्क गर्दा कुनै जवाफ नभएपछि घटनाबारे थाहा भएको थियो । पछि लिड–पाइलट बिउँझिदा को–पाइलट निदाएको र विमान केही समयका लागि निर्धारित मार्गभन्दा बाहिर गएको पत्ता लगाएपछि उनले विमानलाई सकुशल बाटोमा फर्काएर अवतरण गराएका थिए ।

उडानभन्दा अघिको स्वास्थ्य परीक्षणमा दुवै जना पाइलटको रक्तचाप र मुटुको गति सामान्य र जाँड–सक्सी नखाएको पाइएको पनि प्रतिवेदनमा भनिएको छ । घटनाबारे छप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  १ : २१ बजे