७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

रुकुमपश्चिममा भूकम्प प्रभावित ३१ हजार अस्थायी आवास निर्माण



कोहलपुर बाँके चैत २४, – भूकम्प प्रभावित जिल्ला रुकुमपश्चिममा झण्डै ३१ हजारवटा अस्थायी आवास निर्माण भएका छन् । झण्डै ३३ हजारजना लाभग्राहीमध्ये रुकुमपश्चिममा अहिलेसम्म ३० हजार नौ सय २४ वटा अस्थायी आवास निर्माण भएका छ । बाँकी अस्थायी आवास निर्माणको चरणमा छन् ।

गएको कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर ६ दशमलव ४ म्याग्निच्यूडको भूकम्प गएको थियो । भूकम्पमा परी एकसय ५७ जनाको ज्यान गएको थियो । जाजरकोट, रुकुमपश्चिमसहितका जिल्लामा ६५ हजारभन्दा धेरै घरपरिवार प्रभावित भएका थिए । तर भूकम्प गएको पाँच महिना बितिसक्दा पनि सबै लाभग्राहीले अझै अस्थायी आवास निर्माण गर्न सकेका छैनन् ।

रुकुमपश्चिममा सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बडुवालका अनुसार जिल्ला विपद् व्यवस्थापन कोषबाट स्थानीय विपद् व्यवस्थापन कोषमा ८२ करोड ४९ लाख रुपैयाँ रकम पठाइएको भए पनि सबै रकम खर्च हुन सकेको छैन ।

चौरजहारी नगरपालिकामा १५ करोड ६९ लाख ७५ हजार, आठविसकोट नगरपालिकामा २४ करोड ३३ लाख, मुसीकोट नगरपालिकामा चार करोड १५ लाख, सानीभेरी गाउँपालिकामा १४ करोड ९६ लाख २५ हजार, त्रिवेणी गाउँपालिकामा ११ करोड ८१ लाख २५ हजार र बाँफिकोट गाउँपालिकामा छ करोड ६० लाख २५ हजार रकम लाभग्राहीको खातामा निकासा भएको सहायक प्रमुख जिल्ला अधिकारी बडुवालले जानकारी दिनुभयो ।

चौरजहारी नगरपालिकामा छ हजार दुई सय ८९, आठविसकोट नगरपालिकामा नौ हजार तीन सय १३, मुसीकोट नगरपालिकामा एक हजार तीन सय ९३, सानीभेरी गाउँपालिकामा छ हजार दुई सय ५१, त्रिवेणी गाउँपालिकामा चार हजार छ सय ९२ र बाँफिकोट गाउँपालिकामा दुई हजार नौ सय ८३ अस्थायी आवास निर्माण भएका छन् ।

यसैबीच जिल्ला विपद् व्यवस्थापन कोषमा ४० करोड रकम आएको छ । पहिलो किस्ता पाएका र अस्थायी आवास निर्माण गरिसकेको अनुगमन, पहिलो किस्ता पाउँदा गरिएको सम्झौतालगायतका आधारमा स्थानीय तहबाट माग भइआएमा दोस्रो किस्ताको रकम पनि वितरण हुने जिल्ला प्रशासन कार्यालयको भनाइ छ ।

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  ९ : १६ बजे