७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

लुम्बिनी प्रादेशिक अस्पताल विस्तार हुने




बुटवल, वैशाख ५,- एक सय १४ वर्ष पुरानो बुटवलको लुम्बिनी प्रादेशिक अस्पताललाई एक हजार दुई सय शय्यामा विस्तार गर्ने योजना अनुसार सुविधासम्पन्न १२ तले भवन निर्माणको काम सुरु हुने भएको छ ।

लुम्बिनी प्रदेश सरकारले प्रदेशकै ठुलो अत्याधुनिक एक हजार दुई सय शय्याको सुविधासम्पन्न अस्पताल बनाउन गुरुयोजना बनाएको करिब तीन वर्ष ठेक्का विवादका कारण काम अघि बढ्न सकेको थिएन । अहिले अस्पतालको अत्याधुनिक संरचनासहितको १२ तले अस्पताल भवन निर्माणका लागि प्रदेश पूर्वाधार विकास प्राधिकरणले छ अर्ब १८ करोड ७५ लाख रुपियाँको लागतमा ठेक्का सम्झौता गरेको छ । भारतीय निर्माण कम्पनी क्याप साइट आशिष रेलिग्रेट भेन्चरले नेपाली कम्पनीसँग संयुक्त रूपमा काम गर्ने गरी प्रदेश पूर्वाधार विकास प्राधिकरणले गत पुस २६ गते सम्झौता गरेको हो । सम्झौता अनुसार २०८५ साल पुससम्म अस्पतालको भवन निर्माणको काम सक्नुपर्ने छ ।

अहिले पुरानो संरचना हटाउने काम अन्तिम चरणमा पुगेको छ । अस्पतालमा रहेको पुरानो संरचना हटाउने काम अबको दुई साताभित्र सम्पन्न हुने र सुविधासम्पन्न अस्पताल बनाउने काम सुरु हुने अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा। सुदर्शन थापाले अस्पतालमा हाल रहेको तीन सय शय्यालाई विस्तार गरी न्यूनतम एक हजार दुई सय शय्याको क्षेत्रीय अस्पतालमा स्तरोन्नति गर्ने गरी निर्माणको काम अघि बढ्न लागेको बताउनुभयो । अस्पतालका सूचना अधिकारी डा। नेत्र रानाले अस्पताल भवन निर्माणका लागि यसअघिका पुराना संरचनालाई हटाएर अन्यत्र डम्पिङ गर्ने काम भइरहेको बताउनुभयो ।

अस्पतालको बहिरङ्ग सेवा तथा आकस्मिक कक्ष रहेको भवनसँगै हाल प्रशासनिक कक्ष रहेको भवन संरचनासमेत भत्काएर नयाँ संरचना निर्माणका लागि तयारी भइरहेको हो । मेडिकल सुपरिन्टेन्डेन्ट डा। थापाले अस्पतालको अन्य संरचनाको सुरक्षा तथा जग खन्ने कामका लागि ‘सिट पाइलिङ’ को तयारी भइरहेको बताउनुभयो । डा। थापाले बिरामीको उपचारमा कुनै बाधा नपुग्ने गरी पुराना संरचनालाई हटाउने काम भइरहेको र नयाँ भवन निर्माणका लागि तयारी गरिएको बताउनुभयो । बुटवल उपमहानगरपालिका वडा नम्बर ९ मा रहेको छ बिघा १२ कट्ठा जग्गामा आधुनिक १२ तले अस्पताल भवन निर्माण हुँदैछ । अस्पतालको गुरुयोजना अनुसार भवनको अगाडिको भागमा अत्याधुनिक बहिरङ्ग सेवा ९ओपिडी०, आपत्कालीन सेवा ९इमर्जेन्सी०, इन्डोर सर्भिस कक्ष रहने छन् । त्यसै गरी ग्यास्ट्रो, न्युरो, कार्डियोलोजीलगायतका सबै विशेषज्ञ सेवा एउटै भवनबाट सञ्चालन हुने छन् । भवनको सबैभन्दामाथि हेलिप्याड रहने छ भने हेलिप्याडबाट सिधै इमर्जेन्सीमा आउजाउ गर्न मिल्ने व्यवस्थित लिफ्टसमेत बन्ने छ ।

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  ५ : ५७ बजे