७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

सिङ्गापुरमा २० वर्ष शासन गरेका प्रधानमन्त्री ली आजदेखि पदबाट बिदा हुँदै




एजेन्सी जेठ २, सिङ्गापुरमा २० वर्षदेखि प्रधानमन्त्रीको रूपमा कार्यरत ली सिएन लुङले आजदेखि प्रधानमन्त्री पदबाट बिदा लिँदै हुनुहुन्छ ।

सिङ्गापुरको अर्थतन्त्रमा विविधता ल्याउन र संसारकै शीर्ष पर्यटकीय गन्तव्य बनाउन भूमिका खेलेका ७२ वर्षका लीले आज प्रधानन्त्री पद उपप्रधान तथा अर्थमन्त्री लरेन्स वोङ्लाई हस्तान्तरण गर्न लाग्नुभएको बीबीसीले जनाएको छ । लीको बिदाइलाई सिङ्गापुरमा एउटा लामो राजनीतिक युगको समापनका रूपमा समेत हेरिएको छ ।

सन् १९६५ मा सिङ्गापुर स्वतन्त्र भएपछि अहिलेसम्म तीन जना प्रधानमन्त्री भएका छन् । आजदेखि चौथो प्रधानमन्त्री हुन लागेका छन् । सबै प्रधानमन्त्री सत्तारूढ पिपुल्स एक्सन पार्टी ९पीएपी० बाट रहेका छन् । पहिलो प्रधानमन्त्री लीका पिता लि क्वान यु हुनुहुन्थ्यो । शुरुमा लीलाई नातावादबाट आएको प्रधानमन्त्री भन्दै धेरैले टिप्पणी गर्ने गरे पनि पछिल्लो समयमा उहाँको कामले आरोपहरू छायामा परेका थिए ।

पछिल्लो २० वर्षमा सिङ्गापुरको कुल गार्हस्थ्य उत्पादन ९जीडीपी० दोब्बर भएको छ । कोभिड–१९, विश्वव्यापी आर्थिकमन्दी लगायतको समयमा पनि देशलाई राम्रोसँग चलाउन सकेको जस लीलाई दिइएको छ । विदेश मामिलामा पनि लीले अमेरिका र चीनसँगको सम्बन्धलाई सन्तुलित ढङ्गले अघि बढाउनुभएको थियो ।

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार  १२ : ३९ बजे