७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

बाँके र बर्दियामा हावाहुरीले क्षति




कोहलपुर बाँके जेठ ९ सोमबार साँझ बाँके र सो वरिपरिका जिल्लामा आएको भीषण हावाहुरीबाट विभिन्न स्थानमा जस्तापाता र फुसका छाना उडाएको छ । हुरीले धेरै ठाउँमा पर्खाल भत्काउँदा ठुलो क्षति भएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार हावाहुरीबाट भएको क्षतिको विवरण सङ्कलन गर्ने कार्य भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले हावाहुरीबाट धेरै ठाउँमा क्षति पुगेको जानकारी दिनुभयो । हालसम्म विभिन्न स्थानमा घरका छाप्रा उडेको, केही ठाउँमा पर्खाल भत्किएको र धेरै ठाउँमा जस्तापाताको छाना उडेको उहाँको भनाइ छ ।

उहाँले धेरै ठाउँमा घरका छाना उडेको, विद्युतका दर्जनौँ पोल ढलेको र कतिपय नयाँ र धेरै पुराना घरका पर्खाल समेत भत्किएका छन्।

जानकी गाउँपालिका ५ गुरुवागाउँको नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा हावाहुरीले ठुलो क्षति पुर्‍याएको छ। विद्यालयकी शिक्षिका सन्ध्या शर्माका अनुसार विद्यालयको दुई वटा कक्षा कोठा र एउटा स्टोरको छाना हावाले उडाएको छ भने पानी खाने ठुलो ट्याङ्कीसमेत उडाएको छ।

उहाँले कक्षा ७ र कक्षा ६ को कक्षा कोठाको जस्तापाताको छाना उडाएर फालेको तथा खानेपानीको ट्याङ्की नै उडाएर क्षति पुर्‍याएकोले विद्यार्थीलाई पठनपाठन र खानेपानीमा समस्या भएको बताउनुभयो।

सोही प्रकारले बर्दियाको बढैयातालमा हावाहुरीले सबैभन्दा बढी क्षति पुर्‍याएको बैढयाताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले बताउनुभयो।

उहाँका अनुसार हुरीले बढैयाताल ४ का १५ घर र दुई पशु फार्म पूर्ण रूपमा क्षतिग्रस्त भएको, २० घरमा आंशिक र २५ घरमा सामान्य क्षति पुगेको छ। सो वडाका अधिकांशका घरका छाना उडेका छन् भने धेरै पर्खाल पनि भत्किएका छन्।

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार  ८ : ३६ बजे