७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

इजरायली आक्रमणका कारण गाजापट्टीका ६ लाखभन्दा धेरै बालबालिका शिक्षाबाट वञ्चित




एजेन्सी असार २, इजरायलको आक्रमणका कारण प्यालेस्टाइनको गाजापट्टीका छ लाख जनाभन्दा धेरै बालबालिका शिक्षाबाट वञ्चित भएका छन् ।

संयुक्त राष्ट्र सङ्घीय राहत तथा निर्माण एजेन्सी फर प्यालेस्टाइन रिफ्युजिज इन द नेयर इस्टले गाजापट्टीमा छ लाख २५ हजार जना बालबालिका शिक्षाबाट वञ्चित भएका जनाएको छ । प्यालेस्टाइन–इजरायल द्वन्द्वले विद्यालय ध्वस्त हुनु, शिक्षक र विद्यार्थी मारिनु तथा लाखौँ नागरिक शरणार्थी बनेका कारण बालबालिकाले पढ्न नपाएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

प्यालेस्टाइनका बालबालिकालाई सिकाइमा फर्काउनका लागि विभिन्न गतिविधिमार्फत सहयोग गरे पनि यो पर्याप्त नभएको संयुक्त राष्ट्र सङ्घले जनाएको छ ।

युद्धले गाजाका हजारौँ बालबालिकाको बाल्यकाल लुटेको र बाँचेकाहरू गहिरो आघातमा परेका खबरमा उल्लेख छ । उनीहरूले शिक्षा वा खेलविना सम्पूर्ण शैक्षिक वर्ष गुमाएका छन् । इजरायलले गाजामा गरेको आक्रमणमा सबैभन्दा धेरै बालबालिका नै पीडित बनेका छन् ।

गएको अक्टोबर ७ तारिखपछि इजरायलले गाजामा गरेको आक्रमणमा परेर ३७ हजार दुई सय ९६ जनाको ज्यान गएको छ । यस्तै ८५ हजार जनाभन्दा धेरै घाइते छन् । मृतक र घाइतेमध्ये धेरै महिला र बालबालिका रहेका छन् ।

प्रकाशित मिति : ३ असार २०८१, आइतबार  १० : ५९ बजे