काठमाण्डौ असार २०, – नेकपा एमालेले अल्पमतमा परेकाले महत्त्वपूर्ण र दीर्घकालीन महत्त्व राख्ने कुनै पनि निर्णय नगर्न सरकारलाई सचेत गराएको छ ।
महासचिव शंकर पोखरेलले आज एक विज्ञप्ति निकालेर एमालेले समर्थन फिर्ता लिइसकेको अवस्थामा सरकार अल्पमतमा परिसकेकोले महत्त्वपूर्ण र दीर्घकालीन महत्त्वका निर्णय नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गर्नुभएको छ । कांग्रेस र एमाले नयाँ सरकार गठनका लागि सहमत भइसकेकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउने अवस्था पनि नरहेको विज्ञप्तिमा उल्लेख छ ।
कांग्रेससँग मिलेर सरकार बनाउने सहमति भएसँगै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ भने एमालेबाट सरकारमा रहेका ८ जना मन्त्रीले राजीनामा दिइसकेका छन् ।