६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

वैदेशिक रोजगारमा गएकाको तथ्यांक संकलन गर्न गणकलाई तालिम




कोहलपुर बाँके पुस ११- नेपालगञ्जमा दुई दिने गणक तालिम सम्पन्न भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको आयोजना एवम् सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको समन्वयमा बैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन बैदेशिक रोजगारमा गएका, बैदेशिक रोजगारीमा गएर फर्केका तथा बिदेश पढ्न गएका विद्यार्थीहरुको तथ्यांक लिन गणक तालिम गरिएको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाका २३ वडाका २३ जना गणकलाई तालिम दिइएको सामीका कार्यक्रम संयोजक कमलसिंह नेपालीले जानकारी दिए । वडाले प्राथमिकीकरण गरी छनौट गरेर पठाएका मध्येबाट हरेक वडाका १/१ जनालाई तालिम दिइएको नेपालीले बताए । तालिम लिएकाहरुले एक महिना लगाएर आ-आफ्नो वडामा तथ्यांक संकलन गर्नेछन् । तालिममा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका सामी कार्यक्रम व्यवस्थापक पञ्चराम चौधरी लगायतले प्रशिक्षण दिएका थिए ।

सुरक्षित आप्रवासन (सामी) कार्यक्रम बाँकेका चार पालिकामा सञ्चालनमा छ । नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र बैजनाथ गाउँपालिकामा सामी कार्यक्रम सञ्चालन भइरहेको छ । नेपालमा २०६७ सालदेखि सुरु भएको सामी कार्यक्रम अहिले मुलुकभरका ३८ जिल्लाका १५६ पालिकामा सञ्चालन भइरहेको छ ।

सामी कार्यक्रम नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अन्तर्गत सञ्चालनमा छ । यो श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारको नेतृत्वमा कार्यान्वयन भइरहेको छ । कार्यक्रमलाई स्विस सरकारको तर्फबाट प्राविधिक सहयोग हेल्भेटास नेपालले उपलब्ध गराएको छ ।

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  ३ : ३४ बजे